च्याम्पियन्स लिग फुटबल: युभेन्टसको विजयी सुरुवात

असोज ०४,काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा इटालियन क्लब युभेन्टसले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेल अन्तर्गत बुधबार राति स्पेनिस क्लब भ्यालेन्सियाको मैदानमा भएको खेलमा युभेन्टसले २–० को जित निकालेको हो ।

युभेन्सटको जितमा दुवै गोल पेनाल्टी मार्फत मिरालेम पियानिकले गरेका हुन् । २९ औँ मिनेटमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको युभेन्टसले ४५ औँ मिनेटमा पेनाल्टी पायो र त्यसमा पियानिकले गोल गरे ।

यस्तैे ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा पनि पियानिकले नै गोल गरे र टिमलाई २–० को जित दिलाए ।