प्रचण्डको खुलासा, ‘कांग्रेस नेता महेश दाहाल चुनावअघि नै गठबन्धनमा आउन खोज्नुभएको थियो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल टेलिभिजनका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका नेता महेश दाहाल संघ र प्रदेश निर्वाचनअघि नै तत्कालीन वाम गठबन्धनमा प्रवेश गर्न लागेको खुलासा गरेका छन्

दाहाललाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नेपाल तरुण दलका केन्द्रीण्य समिति सदस्य समेत भइसकेकका दाहाल चुनावअघि नै पार्टी प्रवेश गर्न खोजेको खुलासा गरेका हुन् । ‘पार्टी प्रवेश गर्नेबारे चुनावअगाडि नै छलफल भएको थियो । उहाँको मन हाम्रोतिर थियो । उहाँको मन हामीतिर नै थियो । अहिले चुनावमा हाम्रो गठबन्धनको पक्षमा माहौल बनाउने र पछि प्रवेश गर्ने भन्ने छलफल भयो ।’ प्रचण्डले भने ।

समाजवादको यात्रामा दाहालको बाँकी जीवनको अधिकतम सदुपयोग हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनलाई पार्टीले उचित जिम्मेवारी दिने वचनबद्धता समेत गरे ।

नेपाल विद्यार्थी संघमा लामो समय काम गरेका दाहाल नेपाल तरुण दलको केन्द्रीय समिति सदस्य समेत भएका थिए । यसअघि नेपाल टेलिभिजनको अध्यक्ष समेत भएका उनी कांग्रेसभित्रका प्रभावशाली नेता मानिन्छ ।

पार्टी प्रवेशका क्रममा बोल्दै दाहालले मुलुकको विकास अब कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव भएको बताए । पार्टी प्रवेशका क्रममा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै पार्टीको जुनसुकै आग्रह र निर्देशन मान्न आफू तयार रहेको समेत उल्लेख गरेका थिए ।