५ वर्षभित्र नेपालको अनुहार फेरिन्छ : अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्र नेपालको अनुहार फेरिने बताएका छन् ।

गोरखाको बुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षसम्म नेपालको अनुहार फेर्ने परिस्थित नबनेको बताउँदै ५ वर्षभित्र देशको मुहार फेर्ने बताएका हुन् ।

विकास निर्माणका कार्यका लागि केही तयारीमा ढिलाई भएको बताउँदै उनले तयारीले पूर्णतापछि मीठो परिणाम निस्किने समेत दावी गरे ।

यसअघि सम्भव छैन भन्ने कुराहरु सम्भव भएको उदाहरण दिँदै उनले भने, ‘गणतन्त्र आउँदैन होला भनेको आयो, संघीयता आउँदैन होला भनेको आयो, सिंहदरबारको अधिकार गाउँमा आउँदैन होला भनेको आयो, विकास पनि के हो के हो भन्ने भएको छ, हेर्नुहोला ५ वर्षभित्र नेपालको मुहार फेरिन्छ ।’