७० वर्षमा सक्रिय राजनीतिबाट नेता नेपालले बिदा लिने, धेरै सुन्न र कम बोल्न ओलीलाई सुझाव

अमेरिका । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे आफूसँग कुनै पनि विषयमा छलफल नगरिकोप्रति असन्तुष्टि पोखेका छन् ।

सरकार सञ्चालन र कार्यक्रम निर्माणबारे आफूसँग अनुभव भए पनि प्रधानमन्त्री ओलीले सल्लाह सुझाव र छलफल लिने कार्यमा ध्यान नदिएकोप्रति उनले असन्तुष्टि पोखे ।

प्रधानमन्त्रीले कोही कसैसँग छलफल नगरिएकोप्रति असन्तुष्ट देखिएका नेता नेपालले ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव समेत दिएका छन् ।

कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।

‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘त्यसैले धेरै सुन्नू, थोरै बोल्नू ।’

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेता नेपालले सरकारको भने बचाउ गरे । सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए । ‘सरकारको समीक्षा गरिहाल्ने बेला भएको छैन’, नेता नेपालले अगाडि थपे, ‘मलाई विश्वास छ, केही समयपछि सरकारले देखिने रिजल्ट निकाल्ने छ ।’

फरक प्रसंगमा नेता नेपालले दुई पार्टीबीचको एकता लामो छलफलपछि भएकाले मजबुत रहेको दाबी उनले गर्न भ्याए ।

कति वर्षसम्म सक्रिय राजनीति गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा नेता नेपालले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने बताए ।
Source:ujyaalonepal