बडादशैंमा खाने -पिउने कसरी ? डा.राजु अधिकारीको महत्वपूर्ण सुझावहरु, अबश्य पढौ

चाडपर्वहरूमा खानपान र व्यायाममा बढी ध्यान दिनुपर्छ । दसैं अर्थात् शारदीय नवरात्र भनेको शरीरलाई निर्मलीकरण गर्ने र शरीरलाई दुःख दिने विकारबाट मुक्त हुन उपवास बस्नुपर्ने बेला हो । यस्तो बेला प्राकतिक, नैसर्गिक र कम खाना खानुपर्नेमा उल्टो आवश्यकभन्दा बढी मांसाहार गरिरहेका हुन्छौं । दसैं भन्नेबित्तिकै मासु खाने पर्वको रूपमा हामीले बुझ्ने गरेका छौं । हामी गरिष्ठ खाना बढी खान्छौं र व्यायाम पनि गर्दैनौं । अचेल त एकै ठाउँमा थुप्रेर तास खेल्ने र रक्सी-मासु खाने गर्छौं ।
यसले अक्सर विपरीत असर पारिराखेको हुन्छ । हाम्रा शास्त्रीय विधान र धार्मिक ग्रन्थहरूमा भनिएको छ- वसन्त ऋतुको नवरात्र (बडादसैं) र शारदीय नवरात्र (चैतेदसैं) बाट हाम्रो साधना, योग र ध्यान सुरु हुन्छ । सम्पूर्ण रूपमा जीवन बदल्ने बेलामा पच्नै कठिन हुने र हाम्रा स्वभावविरुद्धका आहार जब गर्छौं, त्यो हानिकारक हुन्छ । चाडपर्वको बेला बारम्बार खाइरहने हाम्रो संस्कार छ । श्रम पनि उति भएको हुँदैन ।आधुनिक औषधी विज्ञानका पिता हिपोक्रेट्सले समेत भनेका छन्, ‘खाना नै औषधी हो ।’ खानाको विज्ञानमा रिताहार, मिताहार र हिताहार भनेर उल्लेख गरिएको छ ।

जुन ऋतुमा जुन खाद्य-फल बढी उपलब्ध छ, त्यो खाने गर्नुपर्छ । त्यही हो मात्राअनुसार खाना र हितकर खाना भनेको । चाडपर्वमा हामी यी तीनवटै नियम उल्लंघन गरिरहेका हुन्छौं । मौसमअनुसार प्राप्त हुने फलफूल, तरकारी, खाद्य आदि छोडेर मुखको मीठोको पछाडि दौडिरहेका छौं । अहिले त झनै जंकफुडको प्रचलन बढ्दो छ । त्यसैगरी प्रकृतिको चक्रमा नवरात्र अत्यन्त कोमल हुन्छ । चन्द्रमा र सूर्य र ग्रहहरूको उर्वरता कमजोर या शिथिल अवस्थामा हुन्छ । प्रकृति एक प्रकारले वि श्रामको अवस्थामा हुन्छ यस समयमा ।

प्रकृतिको गर्भमा हामी बस्ने भएकाले हाम्रो शरीर पनि आमाको शरीरजस्तै वि श्रामको अवस्थामा हुन्छ । वि श्राम चाहेको शरीरलाई माथिबाट गरिष्ठ भोजन हालिदियौं भने त्यसले हानि गर्छ । त्यो शरीरका लागि अहितकारी भोजन हुन गयो । चाडपर्वमात्रै होइन अन्य बेला पनि मिताहारलाई ध्यान दिनुपर्ने हुन्छ । पेटको आधा भाग ठोसले भर्ने, एक भाग पानीलाई छोडिदिने र एक भाग हावालाई छोडिदिने हो भने हाम्रो पाचन प्रक्रिया सहज हुन्छ ।

यसको अर्थ हामीले खाने कुराको मात्रामा एकदमै ध्यान दिनुपर्छ । विशेषगरी चाडपर्वमा घाँटीसम्म खाने हाम्रो जुन बानी छ, त्यसलाई पनि सच्याउन जरुरी छ । अर्को कुरा, आफ्नो शरीरमा रोग छ तर आफू असक्त हुँदाहुदै पनि चाडपर्वमा त्यस कुराको बेवास्ता गर्दै दसैंमा नखाए कहिले खाने भन्दै जेसुकै खान तयार हुन्छौं । यसबाट आफ्नो स्वास्थ्यमा हामी सीधै खेलबाड गरिरहेका हुन्छौं । आफ्नो रोगविरुद्ध आहार गर्नै हुँदैन । यसमा सावधानी अपनाउन आवश्यक छ । त्यसो नगर्दा पूर्णिमा कट्दानकट्दै हामीहरू अस्पताल भर्ना हुन्छौं ।

अनावश्यक औषधी खानुपर्छ, बेकारको व्यय हुन्छ । प्रकृतिमाथि भार हुन्छ । परिवारमाथि तनाव र समाजमाथि एक प्रकारको दबाब बढ्छ । माथि उल्लिखित तीन आहार शैलीमा अत्यन्तै ध्यान दिउँ र जीवन शैलीमा सुधार ल्याऔं । दुर्गापुजा भनेको शरीर र मनभित्रका दुर्गमभन्दा दुर्गम स्थानमा रहेका मल विकार र नकारात्मक चीज फ्याँक्ने पर्व हो । त्यसैले यो पर्वलाई नवरात्र अर्थात् दुर्गा पुजा भनिएको हो । नौ द्वारबाट शरीर र चित्तमा मल विकारहरू बसिरहेका हुन्छन् ।

त्यसलाई सफाइ र निर्मूलीकरण गर्न र दुर्गम स्थानमा सात्विकता, सकारात्मक भर्नको लागि दसैं मनाएका हौं । शास्त्रले यस्तै निर्देश गर्छ तर हामी त्यो बिर्सेर उल्टो देखासिकी गर्छौं, फजुल खर्च गर्छौं, जुवा खेल्छौं, जाँडरक्सी खान्छौं । शरीरलाई सात्विक, नैसर्गिक र प्राकृतिक आहार छँदैछ, जप, तप र ध्यान गरेर मनलाई समेत आहार ख्वाउने बेला हो यो । सकेसम्म उपवास बस्दा झनै राम्रो हुन्छ । जल मात्रै खाएर, सर्वत मात्रै खाएर, नुन नखाएर, अन्न मात्रै खाएर या अन्न मात्रै नखाएर कुनै पनि विधिले उपवास गर्ने मौसम हो यो ।

चिकित्सकीय दृष्टिले यो बेला गरेको साधना र उपवास अत्यन्तै फलदायी र प्रभावकारी हुन्छ । यस्तो बेला रसिलो र झोलीलो पदार्थ, नरम खानेकुरा, खिचडी, दलियाजस्ता खानेकुरा खायौं भने शरीरलाई भार पर्दैन । वर्षभरि कुपित भएर रहेको बात, पिक्त कपचाहिँ बाहिर आउँछ । यतिखेर बात पित्त र कपको उग्रता शरीरमा नहुने भएकाले त्यसलाई साम्य पार्न, सन्तुलित गर्न प्राकृतिक र हलुका आहारले काम गर्छ । खानाजस्तै मानसिक र शारीरिक वि श्राम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सोही कारण यति लामा सरकारी र निजी बिदा दिने प्रचलन भएको हो । वि श्राम मात्र होइन, सकारात्मक मनोरञ्जनमा सहभागी हुनेगर्नुपर्छ ताकि आत्मा र शरीर पनि प्रसन्न रहोस् ।

त्यसो गर्न सक्यौं भने दसैंको रस उत्सवलाई सार्थक पार्न सक्छौं । होइन भने हामी विकृतिको हिस्सा बन्छौं र त्यसले समाज र आफ्नो जीवनमा समेत गलत परिणाम प्राप्त हुन्छ । नेपाललाई छाडेर विश्वका पौने दुई अर्ब हिन्दुमध्ये धेरै हिन्दु यो समयमा उपवास बस्छन् र सकेसम्म अन्न त्याग्छन् । फलफूल मात्रै खान्छन् । नुन त्याग्छन् । रगतलाई अम्लीय बनाएर रोग उत्पन्न गर्ने नुन एक नियमित मन्दविष हो । हामी मात्रै त्यस्ता हिन्दु हौं, जो पशुको ‘बलि’ दिएर उसको रगत र मासु सेवन गर्छौं । त्यति मात्रै होइन, त्यस मासुलाई कुहिँदा पनि उपभोग गरिरहेका हुन्छौं, खाईसक्नुपर्छ भन्ने नाममा । दक्षिण भारत, उत्तर भारत, इन्डोनेसिया र भुटानका हिन्दुहरू यतिखेर नवरात्रको साधना गरिरहेका हुन्छन् र ती प्रायः दिनको एकपटक खाना खान्छन् । हरिद्वारमा मैले अध्ययन गर्ने क्रममा पनि त्यही पाएँ । यस समयमा विश्वविद्यालयमा समेत एकपटक मात्र भोजन तयार हुन्थ्यो ।

बनिहाले पनि बानी परोस् भन्ने ध्येयले बेलुका नुनविनाको भोजन बनाइन्थ्यो । नुनले शरीरको विषलाई बाहिर जान रोकिदिन्छ । क्रमशः थपेको थप्यै गर्छ । जब हामी नौ दिन नुन खाँदैनौं र शान्त मनले साधना र अनुष्ठान गर्छौं, त्यसले भित्रका रोगलाई जरैदेखि निकालेर ‘डिटक्सिफिकेसन’ गर्छ । यी सबै गर्न सक्दैनौं भने पनि नौ दिनसम्म एकै प्रकारको मात्रै भोजन गर्दा मात्रै पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । मांसाहार गर्ने त परिकल्पनै नगरे हुन्छ । हाम्रा शास्त्रमा मांसाहारबारे त्यस्तो विधान कतै पनि छैन । बलि भनेको त दुष्प्रवृत्तिको बलि हो । चन्चल इन्द्रियहरूको पो बलि दिने हो त । अबोध पशुलाई बलि दिने होइन । सकिन्छ भने नवरात्रमा केही औषधीय जडीबुटीको सेवन गर्नु उचित हुन्छ । नौ दिनसम्म हामी हर्रो, बर्रो, अश्वगन्धा, शंखपुष्पी, अमला र गुर्जो, चिराइतो, करेला, घोडताप्रे, निम र साज जस्ता अमृतीय वनस्पति र फलको रस खान सक्छौं ।

नवरात्रमा निमको मुन्टा खानाले वर्षभर ज्वरो र भाइरललाई नियन्त्रण गर्न सहज हुन्छ । आयुर्वेद ग्रन्थमा त्यो व्यवस्था छ । वसन्त र शरद ऋतुमा तीतो खानु भन्ने आदेश नै छ शास्त्रको । शरीरमा सञ्चित विकृत रोगलाई फाल्छ तीतो पदार्थले । संसारमा माछामासु नखाने लाखौं होइन, करोडौं मान्छे छन् । कुनै पनि दृष्टिले मांस भोजन उचित छैन । वनस्पतिबाट सम्पूर्ण शरीरलाई आवश्यक तत्व प्राप्त हुन्छ । अति नै प्रतिबद्ध रूपमा माछामासु नखाने जैनहरू मात्रै ५० लाखभन्दा बढीको संख्यामा भएको अनुमान गरिन्छ । माछामासुका पक्षमा वकालत गर्ने संस्थाले गरेको प्रायोजित सोधको बेग्लै कुरो, नत्र त्यस्तो कुनै सोध छैन, जसले मांस भोजनको वकालत गरेको होस् । मानव शरीरको बनावटदेखि लिएर ३२ हात लामो हाम्रो आन्द्राले यो माछामासुका लागि उपयुक्त छैन भन्ने पुष्टि गर्छ।

त्यसमाथि नवरात्रमा मासु खाने हो भने ‘एक दिनको मासु, सधैंलाई आँसु’ भन्ने कहावत सिद्ध हुन जान्छ । चरक संहिता, अष्टाङ संहिता र आयुर्वेदमा कहीं पनि मासु खाने विधान छैन । प्रामाणिक ग्रन्थमा मासुको व्यवस्था छैन । ‘आत्मवत् सर्वभुतेषु’ अर्थात् सबै आत्मालाई आफ्नो आत्मसमान मान भन्ने हाम्रा ग्रन्थले कसैको प्राण हरेर खाने अनुमति दिँदैन ।नेपाललाई छाडेर विश्वका पौने दुई अर्ब हिन्दुमध्ये धेरै हिन्दु यो समयमा उपवास बस्छन् र सकेसम्म अन्न त्याग्छन् । अन्नपूर्णपोष्टबाट